स्वाभिमानी कार्यकर्ताहरू पार्टी सत्ताको दास हुँदैनन्। उनीहरू पार्टी नेतृत्वलाई प्रश्न गर्छन्, स्वस्थ आलोचना र गलत निर्णयको विरोध जनाउँछन्। यस्ता कार्यकर्ताहरू अन्ततः पार्टीको ऊर्जा र पूँजी हुन् जुन कुरो मान्न वर्तमान कांग्रेसको नेतृत्व तयार देखिंदैन।
नेपाली कांग्रेस गौरवपूर्ण इतिहास बोकेको लोकतान्त्रिक पार्टी हो। उसले निरंकुश राणाशासन विरुद्ध लड्यो र देशलाई राणाशाही मुक्त गरायो। पछि आएर २०४६ सालमा निर्दलीय पञ्चायत विरुद्ध लड्यो। बहुदलीय व्यवस्था स्थापित गर्यो। फेरि २०६२ सालमा निरंकुशतातिर देश बढ्न लाग्दा आफ्ना आधारभूत राजनीतिक दर्शनलाई तिलाञ्जली दिएर भए पनि हत्या–हिंसाको चपेटाबाट देशलाई उन्मुक्ति दियो र देशमा गणतन्त्रात्मक संघीय बहुदलीय व्यवस्था सम्भव भयो।
यही व्यवस्था अन्तर्गत देशमा दुई वटा राष्ट्रिय निर्वाचन सम्पन्न भएका छन्। मतपरिणाम अनुसार देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बनेर पनि सत्ता राजनीतिमा ऊ हारेको छ। बिडम्वना ! सत्ता राजनीतिमा पराजयको वास्तविक कारण पहिल्याउन र त्यस अनुरूप आफूलाई रुपान्तरण गर्न वर्तमान कांग्रेस राजनीतिको शीर्ष नेतृत्व तयार देखिंदैन। पार्टी नेतृत्व यस्ता गहन विषयमा निरपेक्ष भैरहने हो भने यसले भविष्यमा कांग्रेसलाई मात्र नभै समग्रमा राष्ट्रिय राजनीति, प्रजातन्त्र, देशको सार्वभौमसत्ता, राष्ट्रियता लगायत देशको बहुआयामिक क्षेत्रमा असर पार्न सक्छ।













