रौतहट, २१ जेठ — रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित मंगलपुरको पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार सर्लाहीको बरहथवाबाट चन्द्रपुरतर्फ गइरहेको विद्युतीय सोकोन गाडी (बा.प्र. ०३–००१ ज ०४५२) र विपरीत दिशाबाट आइरहेको मालबाहक ट्रक (म.प्र. ०३–००१ ख ८६००) एक आपसमा साइडबाट ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा सर्लाही रामनगर–१ खैरवाकी ३६ वर्षीया भगिया देवी र सोही ठाउँका ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। भगिया देवीको छाति र दाहिने हातमा गम्भीर चोट लागेर उपचारको क्रममा ज्यान गएको हो। गम्भीर घाइते ठाकुरको चन्द्रनिगाहपुरस्थित निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
यस घटनामा सर्लाहीकी १८ वर्षीया रानिकुमारी यादव र रौतहट दुर्गाभगवती गाउँपालिका–५ का १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन्। दुबैको अवस्था खतरामुक्त रहेको र चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि ट्रक चालक मकवानपुर हेटौंडा–१३ का ग्यालसेन थोकर र सोकोन गाडी चालक सर्लाही रामनगर–३ का आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले बताएका छन्।
उनका अनुसार, दुर्घटनाको कारण र दुवै सवारी चालकबीच कसको गल्ती थियो भन्ने विषयमा अनुसन्धान जारी छ।













