रौतहट-१३ पवन राज गुप्ता
रौतहट : बागमती जलाधार क्षेत्रमा आउन सक्ने सम्भावित विपद् न्यूनीकरण तथा पूर्वतयारीका लागि रौतहटमा “Watershed-Level Simulation for Testing Horizontal–Vertical Coordination Mechanism” शीर्षकअन्तर्गत कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
सदरमुकाम गौरस्थित सिया प्यालेस होटेलमा आयोजित छलफलमार्फत अन्तर निकाय समन्वय, स्रोत साझेदारी तथा सूचना संयन्त्रको परीक्षणसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी विनोद खडकाले विपद् व्यवस्थापनमा अन्तर निकायबीचको समन्वय अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गरे । उनले पूर्वतयारी र द्रुत प्रतिकार्यमार्फत ठुलो क्षति कम गर्न सकिने भएकाले तयारीमा जोड दिन आवश्यक रहेको बताए ।
त्यसैगरी जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या यादवले विपद् प्रतिकार्य र उद्धार कार्यमा सरकार मात्र जिम्मेवार हुने धारणा बनिरहेको भन्दै समुदाय र युवापुस्ताले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले अघिल्ला दिनमा समुदायले जोखिम व्यवस्थापनमा अग्रपंक्तिमा देखिएको तर पछिल्लो समय युवाहरूको सक्रियता केही घटेको भन्दै सचेतना र सक्रिय सहभागिता जरुरी रहेको बताए ।
दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु सिंह र राजदेवी नगरपालिका मेयर भिकारी प्रसाद यादवले पनि विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका, जनसहभागिता र सचेतनाको महत्वबारे आफ्ना धारणा राखेका थिए ।
सजग समाज परियोजना (Participatory Disaster Resilient Communities Project) को संयोजनमा सम्पन्न कार्यक्रमलाई केयर नेपालले आर्थिक सहयोग गरेको थियो भने इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडकसन (IHRR) र अभियान नेपालले सहकार्य गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, सञ्चार तथा कानून मन्त्रालय, मधेश प्रदेश सरकार, जिल्ला समन्वय समिति, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, नेपाल पत्रकार महासंघ, राष्ट्रिय समाचार समिति, नेपाल रेडक्रस सोसाइटीलगायतका निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
आयोजक : सजग समाज परियोजना, केयर नेपाल, इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडकसन (IHRR), अभियान नेपाल

















