२७ पुस, काठमाडौं । एउटा राजनीतिक पार्टीका लागि चाहिने आधारभूत सांगठनिक संरचना पूरा गरिनसक्दै डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ निर्णयका लागि अघि सरेको छ ।
आइतबारदेखि काठमाडौंमा सुरु भएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको प्रथम बैठकको एजेन्डा छ, नेकपा माओवादी केन्द्रसँग एकता ।
राजनीतिक समितिबाट छलफल सुरु भएको यो एजेन्डामाथि निर्णय भने कार्यकारी समितिबाट हुने छ । भट्टराई आफैंले यसबारे निर्णय लिने र कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय कार्यकारिणी समितिलाई दिनुपर्ने प्रस्ताव गरेका थिए ।
देशमा बलियो समाजवादी केन्द्र आवश्यक भएको भन्दै त्यो आफूहरु एक्लैको शक्तिले सम्भव नहुने भएकाले अन्य पार्टीहरुसँग एकतामा जानुपर्ने भट्टराईको तर्क छ । पछिल्लो समय उनले यसलाई निकै जोडतोडका साथ उठाउने समेत गरेका छन् ।













