२१ पुस, काठमाडौं । चिसो बढेसँगै स्वास्थ्य संस्थामा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । चिसो मौसममा पाँच वर्षमुनिका बालबालिकालाई रुघाखोकी, झाडापखाला, निमोनियाजस्ता समस्या देखिने गर्छ ।
अभिभावकले ख्याल नगर्दा वा गलत उपचार गर्दा बालबालिकाको स्वास्थ्यमा जटिलता देखिने र कतिपयलाई आईसीयूमै राख्नुपर्ने अवस्था आएको वरिष्ठ बाल रोग विशेषज्ञ प्रा.डा.गणेश राई बताउँछन् ।
आफूकहाँ आउने बिरामीमध्ये दुई तिहाइ भन्दा बढी रुघाखोकीजन्य समस्या लिएर आएको उनको भनाइ छ । चिसो मौसममा बालबालिकामा देखिने स्वास्थ्य समस्या र त्यसबाट जोगिन अपनाउनुपर्ने सतर्कताबारे डा. राईसँग अनलाइनखबरका पुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :
चिसो मौसममा बालबालिकामा कस्तो समस्या देखिन्छ ?
श्वासप्रश्वासजन्य र विन्टर झाडापखाला बढी देखिन्छ । विन्टर झाडापखालामा बान्ता पखाला हुन्छ । रुघाखोकी लागेमा ४–५ दिनमा ठीक हुन्छ, दुई–तीन दिन ज्वरो आउन सक्छ । तर, रुघाखोकीको भने राम्रो उपचार नभए निमोनियासमेत हुन सक्छ ।
बालबालिकालाई सास फेर्न गाह्रो हुने, लामो–लामो सास फेर्ने समस्या देखिए निमोनियाको शंका गर्नुपर्छ । दमको समस्या देखिए छाती घ्यारघ्यार हुन्छ । समयमै उपचार नपाए जटिलता बढेर आईसीयूमै भर्ना गर्नुपर्ने हुन सक्छ ।
भनेपछि चिसो मौसम बालबालिकाका लागि जोखिमपूर्ण हुन्छ ?
बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । चिसो समयमा न्यानोका लागि धेरै जना एउटै कोठामा बस्ने प्रचलन छ । यस्तो बेला श्वासप्रश्वासको माध्यमबाट बालबालिकामा रुघाखोकी सर्ने सम्भावना हुन्छ ।
रुघाखोकी पनि गर्मी मौसममा भन्दा जाडोमा बढी लाग्छ । रुघाखोकीको समयमै सही उपचार नभए निमोनिया हुने र दुई वर्षभन्दा कम उमेरका बालबालिकामा दम (ब्रोन्काइटिस) को लक्षण देखिन सक्छ । जसले गर्दा छातीमा दाग बस्ने समस्या हुन्छ र कहिलेकाहीँ मुटुमा पनि समस्या देखिन्छ ।
जाडोमा देखिने अर्को समस्या रोटा भाइरसको पनि हो । खासगरी नवजात शिशु वा कम उमेरका बालबच्चालाई यसले सताउँछ । रोटा भाइरसको संक्रमणले बालबालिकालाई लगातार वान्ता गराउँछ, पखाला पनि लाग्छ ।
यस्तो अवस्था ४८ घण्टासम्म रहन सक्छ । यो संक्रमण यसकारण घातक हुन्छ कि, यसले कडा किसिमको जल वियोजन गराउन सक्छ । जलवियोजनकै कारण बच्चाको मृत्यु पनि हुन सक्छ ।
पछिल्ला वर्षहरुमा चिसो मौसममा अस्पताल आउने बालबालिकाको संख्या कम थियो, यो वर्ष किन बढेको होला ?
कोरोना महामारीका कारण धेरै बालबालिका विद्यालय गएनन्, घरमै आइसोलेट भएर बसे, त्यसकारण बजारमा बनेका खानेकुराहरु खाएनन् । घरमै रहँदा श्वास प्रश्वासजन्य रोग कम सर्यो ।
त्यसैले निमोनिया, दम, झाडापखाला पनि कम भयो । कोरोना कहर कम भएपछि पुन हामीले सामाजिक कार्य गर्न थाल्यौं । अहिले दैनिक अस्पताल आउने १०० बालबालिकामध्ये ७० जनामा रुघाखोकी र १०-१५ जनामा झाडापखालाको समस्या देखिन्छ ।
चिसो मौसममा किन स्वास्थ्य समस्या देखिन्छ ?
चिसोले शरीरको सुरक्षा प्रणाली कमजोर पार्छ । पानी नपरेकाले वातावरण एकदमै सुख्खा छ । जसले गर्दा लामो समयसम्म किटाणुहरु बढी समय सक्रिय रहन्छ । चिसोमा सरसफाइमा कमी हुने भएकाले पनि रुघाखोकीजन्य समस्या बढी देखिन्छ ।













